पार्टीको अन्तरिम संरचना गठनको विवाद काँग्रेसले आज टुंगो लगाउने

साउन १७, काठमाडौं — नेपाली काँग्रेसले पार्टीको अन्तरिम संरचना गठनको विवाद आज टुंगो लगाउने भएको छ । संस्थापन र ईतर पक्षबीचको असहमतीका कारण लामो समयदेखी देखिएको विवाद जारी केन्द्रीय कार्य समिति बैठकले टुंगो लगाउने भएको हो ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह १ बजे बस्ने बैठकबाट यसअघि नै छलफल भएको अन्तरिम संरचनाको बिषय टुंगो लाग्ने प्रबक्ता बिश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसले बिधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम संरचनाको बिवाद टुंग्याउन लागेको हो ।

त्यस्तै बाँकी रहेका १२ एजेण्डामा पनि आज छलफल सुरु हुने छ । बैठकमा केन्द्रीय अनुशासन समिती, केन्द्रीय प्रशिक्षण प्रतिष्ठान, भ्रातृ संगठनको विधान लगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । पार्टीको अन्तरिम संरचना निर्वाचनबाट गर्ने वा सहमतिबाट भन्ने विषयमा नेताहरुबीच सहमति हुन नसकेपछि काँग्रेसको बैठक लम्बिएको हो ।