आल्भेस ब्राजिली क्लब नजिक

साउन १७ , एजेन्सी —  भेट्रान डिफेन्डर ड्यानी आल्भेस ब्राजिली क्लब साओ पाउलो फर्कने तयारी गरेका छन् ।

ब्राजिली राष्ट्रिय टिमका कप्तान समेत रहेका आल्भेस ब्राजिली क्लबसंग अनुबन्धनको नजिक रहेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट सिजनको अन्तिममा निस्किएपछि आल्भेस क्लब विहिन छन् ।

३६ बर्षका डिफेन्डरले गत साता ईन्स्टाग्राममा फोटो पोस्ट गर्दै आफु नयाँ क्लबको खोजीमा रहेको बताएका थिए ।

रिपोर्ट अनुसार आल्भेस साओ पावलोसंग करिब तीन बर्षको सम्झौता गर्न गईरहेका छन् । कुनैपनि युरोपियन क्लबले लामो समयको सम्झौता गर्न ईच्छा नदेखाएपछि आल्भेस ब्राजिल फर्कन चाहेका हुन् ।

आल्भेस अहिले बिदामा छन् । मौखिक सहमती बनेपनि त्यसको औपचारिक घोषणा केही दिनमा हुने बताईएको छ ।

आल्भेसले ब्राजिली क्लब बाहियाबाट व्यवसायीक फुटबल करियर सुरु गरेका थिए । उनको क्लब ब्राजिलमा साओ पावलो भन्दा धेरै सफल क्लब हो । सन् २००२ मा उनी १९ बर्षको उमेरमा स्पेनिस क्लब सेभिल्ला पुगेका थिए ।

करिब ६ बर्ष सेभिल्लामा बिताएपछि उनी सन् २००८ मा बार्सिलोना गएका थिए । उनले बार्सामा ८ बर्ष बिताए । क्याटलान क्लबबाट २ सय ४७ खेल खेले । र उनले बार्सिलोनामा रहदाँ २२ उपाधि जितेका थिए ।

उनले स्पेन छाडेपछि एक सिजन युभेन्ट्समा समेत बिताएका थिए । पीएसजी छाडे लगत्तै टुरिन क्लबले समेत आल्भेसलाई अनुबन्धनको ईच्छा देखाएको थियो । ब्राजिललाई कोपा अमेरिका जिताएका आल्भेसलाई ईटालियन क्लब ईन्टर मिलान समेत अनुबन्धन गर्न ईच्छुक थियो ।

तर अधिकांश क्लब उनलाई एक बर्ष भन्दा लामो समयका लागि अनुबन्धन गर्न चाहेनन् । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका प्रशिक्षक पेप ग्वार्डिओलाले समेत आल्भेससंग पुन काम गर्ने रहर देखाएका थिए ।

आल्भेसले पीएसजीलाई पछिल्ला दुई सिजन लगातार लिग वान उपाधि जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।