पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प, आवतजावतमा कठिनाई

 

साउन १३, काठमाडौं — अबिरल वर्षाका कारण कालेखोलामा चट्टानै फुड्दा  कालिकोट जिल्लाको शुभकालिका गाँउपालिका–१ स्थित कालेखोलामा चट्टान ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली राजमार्ग पूर्णरुपमा ठप्प भएको छ ।

कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडक खण्ड अन्तर्गत शुभकालिका गाउँपालिका स्थित गगने खोलाको पहिरोले राजमार्ग अवरुद्ध हुँदै आएकोमा आइतबार राति कालेखोलामा ठुलो पहिरो गएको हो ।

वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्गमा सामान्य पानी पर्दा पनि पहिरो खस्ने समस्या छ । यसले गर्दा राजमार्गमा गुड्ने सवारी साधन र यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ ।

आइतबार बिहानदेखि कालिकोट दैलेखको सिमाना दही खोलादेखि गगने भीरसम्म र हुल्मदेखि जिते बजारसम्म सवारी साधनहरुको लामा लागेको छ । यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।