नेपथ्यको ‘रातो र चन्द्र सूर्य’ म्यूजिक भिडियो सार्वजनिक

साउन ९,काठमाडौ — कवि गोपालप्रसाद रिमालले राणाकालिन समयमा लेखेको कविता ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’ गीतलाई केही दशकपछि म्युजिक भिडियोमा उतारिएको छ ।

नेपथ्य ब्याण्डले संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति प्राप्त गरेपछि केहि वर्षअघि यस गीतलाई तयार गरेर नेपथ्यको एल्बम ‘मेरो देश’ मा समेटिएको थियो ।

हाम्रो नेपाली झण्डाको वर्णन गर्दै हाम्रो गौरवमयी इतिहास र गाथा बयान गर्ने यस गीतलाई लोक रक ब्याण्ड नेपथ्यले विभिन्न कन्सर्टहरुमा गाउँदै आएको छ ।

नेपथ्यले यस गीतलाई रेडियो नेपालका पुराना श्रोतामा मात्र सीमित नराखेर नयाँ पुस्तामा ल्याएका छन् । युवा पुस्तमा यस गीतको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको देख्न सकिन्छ ।

सार्वजनिक गरिएको यस गीतको म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई समेटिएर प्रस्तुत गरिएको छ ।
कविता बनेको लामो समयपछि यस कवितालाई गायक अम्बर गुरुङले संगीत भरेका थिए भने उतिबेलै गायक गुरुङ र गायक फत्तेमानले आफ्नो स्वर समेटेर रेडियो नेपालमा यस गीतलाई रेकर्ड गराएका थिए ।