नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा मन्त्रीमण्डल गठन

साउन ९— नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट पक्षधर नेताहरुलाई सामेल गरेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् ।

उनले ब्रेक्जिटको पक्षमा कडा रुपमा उभिएका नेताहरुलाई मन्त्रीमण्डलको महत्वपूर्ण जिम्मेवारी सुम्पिएका छन् । जसमा भारती मूलकी प्रिती पटेललाई गृहमन्त्री र पाकिस्तानी मूलका साजिद जाविदलाई वित्त मन्त्री बनाइएको छ ।

त्यसैगरी डोमेनिक राव परराष्ट्र एवं विदेश सचिवमा नियुक्त भएका छन् । त्यसअघि बकिङघम दरबारमा महारानी एलिजावेथ द्वितीयालाई भेटेपछि प्रधानमन्त्री कार्यालय तथा निवास टेन डाउनिंग स्ट्रिटमा फर्किएर जोनसनले देशवासीका नाममा सम्बोधन गरेका थिए ।

उनले युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनका लागि नयाँ सम्झौता गर्ने र युरोपसँगको भावी सम्बन्ध खुला व्यापार र आपसी सहयोगमा केन्द्रीत बनाउने उल्लेख गरे ।

प्रधानमन्त्री जोन्सनले आगामी ३१ अक्टोबरभित्र यूके युरोपेली संघबाट अलग भइसक्नेमा आफू विश्वस्त रहेको पनि बताए । ब्रिटेनका नागरिकहरूले लामो प्रतिक्षा गरिसकेको र अब परिणाम दिनुपर्ने समय आएको उनको भनाइ थियो ।

मेरो जिम्मेवारी तपाईं नागरिकहरूको सेवा गर्नु हो भन्दै प्रधानमन्त्री जोन्सनले अब ‘नो इफ्स,नो बट्स’ नचल्ने र घोडाको रफ्तारमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

एजन्सी