यस वर्ष विपद्‌मा परी १ सय ९५ जनाको ज्यान गयो

साउन ६, काठमाडौ— विपद्‌मा परी यस वर्ष अहिलेसम्म १ सय ९५ जनाको ज्यान गयो । गृह मन्त्रालयका विपद्‌ पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख वेदनीधि खनालका अनुसार बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरी, सर्पदंश लगायतका एक हजार ५ सय २५ घटनामा परी १ सय ९५ जनाको मृत्यु भएको छ ।

तराईका केही जिल्लाबाट अझै विवरण आइनसकेको बताउँदै उनले यो संख्या अझै बढ्न सक्ने बताए । अहिलेसम्म बाढीबाट ५५, चट्याङबाट ४४, पहिरोबाट ३४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, भारी वर्षाबाट ७, सर्पदंश ६, हवाई दुर्घटनाबाट ३ जना र अन्य ३ जनाको मृत्यु भएको खनालको भनाई छ ।

खनालका अनुसार विपद्को घटनामा परेर ३५ बेपत्ता र ४ सय ८८ जना घाइते भएका छन् । बेपत्ता हुनेमा बाढीबाट २४, पहिरोबाट ९, डुंगा पल्टेर १ र हिउँपहिरोमा परी एक जना रहेका छन् ।
घाइते हुनेमा चट्याङबाट १ सय ६३, हावाहुरीमा १ सय ४९, बाढीबाट १०, पहिरोबाट २९, आगलागीबाट ६८, जनावरबाट ३५, भारी वर्षाबाट १४ जना भएका मन्त्रालयले जनकारी दिएको छ । ती घटनामा करीब दुई अर्ब ६८ करोड ५३ लाख ४७ हजार ६ सय १९ रुपैयाँको क्षति भएको छ ।

सबैभन्दा बढी क्षति बाढीबाट १ अर्ब ५ करोड ५ लाख ४ हजार रुपैयाँ क्षति भएको छ । त्यसैगरी आगलागीबाट १ अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, पहिरोबाट एक करोड ७८ लाख ३ हजार रुपैयाँ, चट्याङबाट २६ लाख २ हजार , भारी वर्षाबाट ८२ लाख २० हजार ५ सय र जनावर आतंकबाट ९ लाख १९ हजार रुपैयाँ क्षति भएको मन्त्रालयले जनाएको छ ।
उपसचिव खनालका अनुसार विपद्बाट १२ हजार ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । त्यसमध्य हावाहुरीबाट धेरै १० हजार ६ सय ९७ घरपरिवार प्रभावित भएका छन् ।

यसैगरी आगलागीबाट एक हजार ५६, बाढीबाट ६९९, चट्याङबाट २०७, पहिरोबाट १५८, लेक लागेर १८, जनावर आतंकबाट ७५, भारी वर्षाबाट ५० र सर्पदंशबाट १० घरपरिवार प्रभावित भएका छन् । विपद्बाट एक हजार २६४ घर आंशिक र ७२९ घर पूर्ण रुपमा क्षति भएको छ ।

साथै एक हजार १७८ पशु चौपया मरेका र ३८४ गोठमा क्षति पुगेको जनाएको छ । चट्याङबाट ४१८, बाढीबाट ५१, पहिरोबाट ९२, आगलागीबाट ५५८, जनवार आतंकबाट ९, हावाहुरीबाट ३७, भारी वर्षाबाट ७, असिनाबाट ६ वटा चौपया मरे । केही दिनअघि आएको अविरल वर्षाका कारण करिब ९० जनाको ज्यान गएको थियो ।