बस र पिकअप भ्यान एकापसमा ठोक्किदा दुईको मृत्यु

साउन २, काठमाडौं — मोरङको पथरीशनिश्चरे नगरपालिका–१० पूर्वपश्चिम राजमार्गमा बिहीवार बस र पिकअप भ्यान एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । २१ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरूमा बसका सहचालक कानेपोखरी गाउँपालिका ३ का ३१ वर्षीय टिकाराम थापाको उपचारको क्रममा मृत्यु भएको हो । थापाको शव पोस्टमार्टमका लागि विराटनरको कोसी अस्पतालमा राखिएको छ ।

त्यस्तै बसमा सवार नामथर नखुलेका अन्दाजी ३५ वर्षका एक पुरुष यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । उनको घटनास्थलमै मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

घाइतेहरु मध्ये ८ जनाको पथरी अस्पताल, ८ जनाको पथरी मोरङ डाइनास्टिक, ७ जनाको नोबेल र ५ जनाको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले बताएकोे छ ।

दुर्घटनामा घाइतेमध्ये मोरङको कानेपोखरी ३ की ६० वर्षीय दुर्गादेवी बस्नेत र कानेपोखरी ४ की ५० वर्षीया खिनमाया लिम्बूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस्नेतको न्युरो र लिम्बूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे १ च ५३९१ नम्बरको पिकअपलाई ठक्कर दिंदा बस अनियन्त्रित भई उक्त दुर्घटना भएको थियो । बस मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलोबाट काँकडभिट्टातर्फ गइरहेको थियो। भ्यानसँग ठोक्किएपछि बस अनियन्त्रित भएर सडकमा पल्टिएको थियो