भारतबाट भित्रिने तरकारीमा ८० प्रतिशतभन्दा बढी विषादी

असार २१, काठमाडौं — भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी जाँचपछि मात्र भित्र्याउने निर्णयबाट सरकार पछि हटेको छ । भारतीय दबाबका कारण असार १९ गतेको मन्त्रिपरिषद् बैठकले आफ्नो पुरानो निर्णय फिर्ता लियो । निर्णय फिर्ता लिएसँगै सीमा नाकाबाट निर्वाध रुपमा भारतीय तरकारी र फलफूल नेपाल भित्रिन थालेका छन् ।
भारतबाट आयातित तरकारीमा ८० प्रतिशत भन्दा बढी विषादी भेटिएको सरकारी तथ्यांकले नै देखाएको छ । बजारमा आउने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको वेभसाइटमा राखिएको परीक्षणले यस्तो देखाएको हो ।
आजभन्दा साढे दुई वर्ष अघि गरिएको परीक्षणमा भारतबाट आयात गरिएको तरकारीमा ८० प्रतिशतसम्म विषादी भेटिएको हो । जबकी कुनै पनि तरकारी वा फलफूलमा ३५ प्रतिशतभन्दा कम विषादीको मात्रा देखिएमा उपभोग गर्न योग्य मानिन्छ ।
तर २०७३ सालमा गरिएको नमुना परीक्षणमा भारतबाट आयातित गोलभेडामा ६५ देखि ८३ प्रतिशतसम्म विषादीको मात्रा देखिएको थियो । अहिले भने समितिले आफ्नो वेबसाइटमा विषादी परीक्षणबारे केही पनि अपडेट गरेको छैन् ।