धादिङको कृष्णभीरमा ३ गाडी एक आपसमा ठोक्किए, २ जनाको मृत्यु

असार १५, काठमाडौं – धादिङको बेनिघाटमा आइतवार बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको धादिङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ रहेका छन् भने महिलाको पहिचान खुलेको छैन ।
दुर्घटनामा ती तीनवटा गाडीमा यात्रा गर्ने ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
अन्य ७ जनाको गजुरी र २ जनाको चरौंदीमा उपचार भइरहेको छ । अन्य केही भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डीएसपी खड्काले बताए ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।