व्यक्तित्व र जीवनशैली कुकुरको जस्तो अपनाएर जिउने गरेका अचम्मलाग्दा व्यक्ति !

असार १३

वेलायतको साल्फोर्ड सहरमा वस्ने एक व्यक्तिले पूर्ण रुपमा एक कुकुरको जीवनशैली अपनाएका छन् ।
३७ वर्षीय काज जेम्सले वाल्यकालदेखि नै आफूले मानिसको जस्तो कहिल्यै महसुस नगरेको बताए । साथै आफूले एक कुकुर भएको महसुस गरेकाले मानिसका रुपमा आफूलाई एकदमै अनौठो लाग्ने गरेको उनको भनाई छ । आफूले कुकुरको व्यक्तित्व र जीवनशैली अपनाएर जिउने गरेको बताएका हुन् ।
उनले कुकुरको मुकुट, कुकुर बाँध्ने साङ्ग्लो र करीब २ हजार पाउण्ड परेको एक भुवादार पहिरन लगाउने गरेका छन् । साल्फोर्डमा स्टोर म्यानेजरका रुपमा काम गर्ने उनी आफ्नो कार्यक्षेत्रबाहिर भने कुकुरकै पहिरनमा देखिने गर्दछन् ।

उनले कुकुरको भाडाबाट खानपिन गर्ने गर्छन, कुकुरको जस्तो देखिन कुकुरको मुकुट लगाउँछन् र कुकुर जसरी नै साथीभाईहरूलाई भुक्ने, चाट्ने र टोक्ने गरेका छन् ।

त्यसैगरी उनी कुकुरजस्तै आफ्नो दाँतको प्रयोग गरेर चीजबीजहरू उठाउने समेत गर्छन् । उनले बाटोमा अरु कुकुर देख्दा तिनीहरूलाई पनि भुक्ने गर्छन् । यसरी कुकुरलाई आफूले भुक्दा वरिपरिका मानिसहरूले भने उनलाई निकै अनौठो मानेर हेर्ने गरेको बताउँछन् ।

जेम्सले सानैदेखि जहिले आफूले अरुभन्दा भिन्न महसुस गर्ने गरेको र १७ वर्षको उमेरमा पहिलोपटक इन्टरनेट चलाउँदा अनलाईनमा आफूजस्तै अरु पनि भेटिएकाले बल्ल सहज अनुभव गर्न थालेको बताएका छन् । त्यसैगरी उनले पहिलेदेखि नै साथीभाईहरूसँग भेट्दा पनि उनीहरूको सर्टको कलरमा दाँतले टोकेर वा कुकुर जसरी भुकेर र चाटेर अभिवादन गर्ने गरेको बताउँछन् ।

जेम्सका अनुसार उनले करीब ६ वर्षको हुँदादेखि कुकुरको जस्तो अनुभव गर्ने गरेका हुन् । तर अनलाईनमा आफूजस्तै अरुसँग च्याट गर्न थालेदेखि भन्ने आफू को हो भनेर चिन्न सुरु गरेको उनले बताएका छन् । जेम्सका अनुसार उनका लागि कुकुर हुनु नै उनको जीवनको सबथोक हो र उनले आफ्नो जीवनशैलीको हरेक पक्ष यसै अनुसार ढाल्दै लगेका छन् ।

कुकुरको जस्तो जीवन बाँच्ने गरेका जेम्सले घरमा दुईवटा कुकुर पनि पालेका छन् । त्यसैगरी उनले ‘डग ट्रेनिंगस् हाउ टू ट्रेन अ ह्युमन पप’ नामको पुस्तक पनि लेखेका छन् ।

एजेन्सी