आईफा अवार्ड २०१९ काठमाडौंमा हुने

असार १२, काठमाडौँ — भारतको प्रतिष्ठित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड २०१९को संस्करण काठमाडौंमा हुने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले अवार्ड आयोजना गर्न स्वीकृति दिएको छ । उक्त अवार्ड नेपाल पर्यटन बोर्डको नेतृत्व र काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको छ ।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारले यस सम्बन्धि जानकारी दिएको हो । उक्त अवार्ड कहिले हुने बारेमा खुलाइएको छैन ।

अवार्डको कूल लागत १ अर्ब रुपैयाँ हुने प्रारम्भिक अनुमान छ । अवार्ड समारोहमा ८० देखि १०० जना बलिउड कलाकार सहभागी हुने अनुमान गरिएको छ ।