किम र ट्रम्पबीच शिखरवार्ताका लागि सम्भावना खोज्न अधिकारीहरूको गोप्य भेटघाट

असार १२, काठमाडौं – दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच तेस्रो शिखरवार्ताको सम्भावना खोज्न दुवै देशका अधिकारीहरू गोप्य भेटघाटमा जुटेको जानकारी दिएका छन् ।

तेस्रो शिखरवार्ताको उद्देश्य उत्तर कोरियाको आणविक हतियारको भविष्य सुनिश्चित गर्नु हो ।

यसअघि ट्रम्प र किमबीच चार महिनाअघि हनोईमा भएको वार्ता सम्झौताविना नै टुंगिएको थियो ।

हनोई वार्ता सकिएपछि वाशिङटन र प्योङयाङबीच सार्वजनिक बैठक हुन सकेको छैन । तर ट्रम्प र किमबीच हालैका दिनमा निजी पत्र आदानप्रदानपछि अमेरिका र उत्तर कोरियाबीच वार्ताको सम्भावना बढेको छ ।

मंगलवार पत्रकारहरूसँग कुरा गर्दै मूनले ट्रम्प र किमबीच वार्तामा सहभागी हुने इच्छा नसकिएको बताए ।

यसबीच एएफपी समाचार संस्थामा आएको खबर अनुसार, उत्तर कोरियाले बुधवार आणविक कुराकानीमा अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ बाधाका रूपमा रहेको बताएको छ । उत्तर कोरियाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले ट्रम्पका परराष्ट्रमन्त्री पम्पिओका हालैका बयानको निन्दा गरेका छन् ।

एजेन्सी