एसईईको नतिजा सार्वजनिक गर्न बैठक

असार १२, काठमाडौँ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बैठक बोलाएकोे छ ।

नतिजा सार्वजनिक गर्नु अगाडि बोर्ड बैठक बस्नु पर्ने प्रावधान रहेकाले बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । उनले नतिजा प्रकाशन गर्ने सबै तयारी पूरा भइसकेको र बोर्डले निर्णय गरे आजै नतिजा प्रकाशन गरिने बताए ।

नतिजा पनि प्रदेशअनुसार छुट्टाछुट्टै तर एकैपटक सार्वजनिक गर्ने तयारी छ ।
मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए । चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । यसपटक अनिवार्य विषयहरुको प्रश्नपत्र फरक फरक बनाएर परीक्षा लिइएको हो ।