इरानमाथि अमेरिकाको कडा प्रतिबन्ध

 

असार १०, काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । सोमवार उनले अमेरिकी क्षेत्रमा इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनी तथा अन्य अधिकारीले बैंकिङ सुविधा लिन नपाउने ट्रम्पले बताएका छन् ।

केही दिनअघि इरानले अमेरिकी ड्रोन आफ्नो इलाकामा पसेको भन्दै खसाइदिएको थियो । त्यसपछि ट्रम्पले जवाफी कारवाहीको आदेश दिएका थिए तर १५० जनाको ज्यान जाने देखेपछि आदेश फिर्ता लिएको बताए ।

सोमवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले भने, ‘हामी इरान वा अन्य कुनै देशसँग संघर्ष चाहँदैनौं । तर हामी इरानलाई आणविक हतियार बनाउन दिँदैनौं ।’

इरानले अमेरिकाको ड्रोन खसाएको बदलामा यो प्रतिबन्ध लगाइएको हो त भन्ने पत्रकारहरूको प्रश्नमा ट्रम्पले भने, ‘तपाईं यसलाई यसरी पनि जोड्न सक्नुहुन्छ । तर थप प्रतिबन्ध त लगाउनुपर्ने नै थियो ।’

एजेन्सी