गलबन्दी’ गीतको भाका अन्य भाकासँग मेल खादैन — कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा


असार ९, काठमाडौं — प्रकाश सपुतको गलबन्दी गीतलाई यतिबेला चोरीको आरोप लागेको छ । गायक शम्भु राईको देउसीभैलो संग मिलेको भन्दै गीतले चर्चा पाएको छ ।  नेपाली कांग्रेसका सांसद नेता एवं पूर्व मन्त्री मीनबहादुर विश्वकर्माले भने गलबन्दीको पक्षमा संसदमा बोलेका छन् ।

उनले तीस दिनमा डेढ करोड पटक हेरिनु चानचुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपूत र गायिका शान्ति श्री परियारलाई सरकारले उचित सम्मान दिनु पर्ने सरकारसंग माग गर्नुका साथै सत्तारुढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मीनले विरोध गरेका हुन् ।

उनले भने ‘राईले मेरो लय नक्कल गरिएको भनेर मुद्दा हालेछन्’ विश्वकर्माले भने, ‘हामीले ख्याल गर्नुपर्ने कुरा भनेको लोकलय पुर्खाले गाएको गीतलाई पछिल्लो पुस्ताले सिक्दै पछिसम्म जीवित राख्ने हो।’ उनले एक पुस्ताले एकपल्ट गाएको गीत एकपल्ट मात्र रेकर्ड हुन्छ भने लोक भाका नहुने बताए ।

उनले गाउँघर, रोदि, मेलापातमा जाँदा यो गीत स्वतः गाउने भाका नै लोक लय हुन्छ भन्दै प्रकाश सपूतको गीतको समर्थन गरे। उनले प्रकाश सपूतको गीत कुनै पनि भाकासँग मेल नखाने पनि दाबी गरे ।

राईका मतियारहरुले सामाजिक सञ्जालको प्रयोग गर्दै प्रकाश सपूतलाई अति निच गाली गर्दै जातीय विभेदपूर्ण शब्द प्रयोग गरेको भन्दै मीनले निन्दा गरे। संविधान, सदभाव र कानूनको विरुद्ध हुने गरी दलित समुदायलाई अपमानित हुने गरी अपमान गरेको हुनाले साइबर कानून अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत कारवाहीको माग गरे ।