चौधरीको खुट्टामा साङ्लो लगाउनेलाई तत्काल कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

असार ७, काठमाडौं – राजपा नेपालका साँसद रेशम चौधरीलाई बाधेर उपचार गराउन संलग्न रहेकालाई तत्कालै कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर चौधरीको खुट्टामा साङ्लो लगाउनेहरुलाई तत्काल कारवाही गर्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन दाहालले जानकारी दिए ।

बीर अस्पतालमा उपचारत सांसद चौधरी उपचारकै क्रममा उनलाई साङ्लो लगाइएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएका छन् ।

टीकापुर हत्याकाण्ड घटाएको अभियोगमा कैद भोगिरहेका राजपाका सांसद चौधरीलाई मेरुदण्डमा समस्या आएपछि बुधवार वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको बेडमा उनको खुट्टामा १४ किलोको फलामको साङ्लोले बाँधेर राखिएको थियो ।

चौधरीलाई भेटन समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरी त्यस्तै उनका समर्थकहरु पनि अस्पताल पुगेका थिए।