गुठीसम्बन्धी विधेयक सच्याउन नेकपा नेताहरुको सुझाव

असार २, काठमाडौं — गुठीसम्बन्धी विधेयक, २०७५ लाई संसद्मा पेस गर्दा संशोधन गर्नुपर्ने आवाज नेकपाका नेताहरुले उठाएका छन् ।

सरोकारवालाहरूसँग पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरूले सरकारलाई दबाब दिएको हो ।

गुठी विधेयकका बारेमा सरोकारवालासँग छलफल गर्न नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र मणि थापा लगाएतको सुझाव आएको छ ।

सरोकारवालासँग छलफल नै नगरी ल्याइएको विधेयक संसद्मा पेस नगर्दै विवादित भएपछि परिमार्जनको विकल्प नरहेको उनीहरुको धारणा रहेको छ ।

यसैविच युरोप भ्रमण सकेर फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थलमै गुठीसम्बन्धी विधेयकले कसैलाई अप्ठारो परेको भए सुधार गर्ने बताए ।

गुठीका नाममा गरिबमाथि कहिकतै शोषण भएकाले त्यसको अन्त्यका लागि पहल गर्ने बताउदै प्रधानमन्त्री ओलीले यसमा कसैलाई धक्का परेको भए पुर्नविचार गर्ने बताए ।