माथिल्लो तामाकोशी जलविद्यूत आयोजना निर्माण अन्तिम चरणमा

असार १, लामाबगर (दोलखा) — आफ्नै लगानीमा निर्माण गरिएको सबैभन्दा ठूलो तामाकोशी जलविद्यूत आयोजनाको ट्रान्समिसन लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बाँधस्थलबाट ८ किलोमिटर सुरुङ हुँदै पावर हाउसमा पानी खसालेपछि आयोजना सम्पन्न हुने भएको छ । आयोजनामा सुरुङमार्गको ७ सय ८३ मिटर खण्डमा पाइप राख्ने काममा ठूलै अबरोध उत्पन्न भएपछि आयोजना नै पछाडि धकेलिएको हो ।

सुरुङभित्रको ट्रान्सफर्मर, जेनेरेटर, स्विच गियर, भल्बजस्ता उपकरण जडान कार्य सम्पनन भइसकेको छ । माथिल्लो तलामा ‘कन्ट्रोल रुम’ पनि तयार भइसकेको र तामाकोसी नदी थुनेर पानी ल्याइने ठूल्ठूला पाइप पनि जोडिएको छ । पानीले घुमाएर ऊर्जा उत्पादन गर्ने ६ वटै टर्वाइन घुम्न तयारी अवस्थामा रहेको छ ।

२०५४ सालमा अस्ट्रियाका त्रिस्चियन उल्हरले माथिल्लो तामाकोसी सस्तो लगानीमा निर्माण हुने बताएपछि नेपाल विद्युत् प्राधिकरणले २०६३ सालमा कम्पनी बनाएर आयोजनाको काम अघि बढाइएको थियो ।

आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत सेयरमा कर्मचारी सञ्चय कोषको १० अर्ब, नेपाल टेलिकमको ६ अर्ब, नागरिक लगानी कोष र बिमा संस्थानको २/२ अर्ब र नेपाल सरकारको ११ अर्ब ऋण लगानी रहेको छ । देशभरका सर्वसाधारण र दोलखाबासीको करिब ५ अर्ब बराबरको सेयर पनि छ ।