नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको हृदयघातका कारण निधन

जेठ ३१, चितवन — नेकपाका केन्द्रीय सदस्य तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । चितवनको माडीस्थित निवासमा शुक्रबार बिहान हृदयघातका कारण पौडेलको निधन भएको हो ।

आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका ५३ वर्षिय पौडेललाई बगौडा अस्पताल पुर्याउदै गर्दा निधन भएको हो ।

माडी नगरपालिका–५ मा निर्माणाधिन घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए । बिहानै काम गर्ने साथीसँग कुराकानी गर्ने क्रममा अचानक ढलेको परिवारिक स्रोतले बताएको छ ।

यसअघिको सरकारमा शिक्षा मन्त्री भएका नेकपा नेता पौडेल सक्रिय राजनीतिको रुपमा नेकपाको केन्द्रीय सदस्य थिए । पौडेलको पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् । उनका दुई छोरी छन् ।

श्रद्धाञ्जलीका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन पुग्दैैछन् ।