निर्माण अवधि लम्बिँदा माथिल्लो तामाकोशीको लागत ७३ अर्ब पुग्ने

रासस
जेठ २९, काठमाडौं — ‘गोरखा भूकम्प’ भारतको नाकाबन्दी तथा अन्य प्राकृतिक प्रकोपका कारण लागत बढ्दै गएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लागत दोब्बरले वृद्धि हुने भएको छ ।

आयोजना शुरु गर्दा रु ३५ अर्ब लागत रहेको सो आयोजनाको कूल लागत वृद्धि भई रु ७३ अर्ब ६८ करोड पुग्ने भएको छ । त्यसमा निर्माण अवधिको ब्याज मात्रै रु २१ अर्ब ७४ करोड पुग्ने भएको छ ।

सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ । स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको सो आयोजनाको ब्याजमा उल्लेख्य वृद्धि भएपछि कूल लागतमा समेत प्रभाव परेको हो ।

आगामी पुसबाट परीक्षण उत्पादन शुरु गरी चैतभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्यका आधारमा आयोजनाको प्रक्षेपित लागत अनुमान कूल रु ५१ अर्ब ९४ करोड पुग्ने छ भने सो अवधिको ब्याज मात्रै रु २१ अर्ब ७४ करोड लाग्नेछ ।

सोही आधारमा पूँजीकरणसहित आयोजनाको कूल लागत वृद्धि हुने अनुमान गरिएको हो । प्रक्षेपित लागत हालको परिस्थितिसँग मिल्ने गरी यथार्थपरक रहेको कम्पनीले दाबी गरेको छ । आगामी चैतभित्र निर्माण सम्पन्न नभएमा आयोजनाको लागत अझै बढ्ने देखिएको छ ।