बर्दियामा ट्रयाक्टर र अटो छुट्टाछुट्टै दुर्घटना हुँदा २० जना घाइते

जेठ २५, बर्दिया — बर्दिया ट्रयाक्टर र अटोको छुट्टाछुट्टै दुर्घटनामा २० जना घाइते भएका छन् । बर्दियाको गुलरिया गोडियनपुरवामा शुक्रबार राती भएको केही समयको अन्तरमा ट्रयाक्टर र अटो दर्घटनामा परेको हो ।

भारत तर्फको सीमानामा चलिरहेको लक्कडबाबाको मेलाबाट फर्किने क्रममा ट्रयाक्टरको ट्रली पल्टिएर दुर्घटना हुँदा १६ जना घाइते भएको बर्दियाका प्रहरी हवल्दार हर्ष तिरुवाले बताए ।

महिला तथा बालबालिकाहरु सबैभन्दा धेरै घाईते भएका छन् । गम्भिर ६ जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
गुलरिया नगरपालिका वार्ड नम्वर ८ निवासी निलम लोध (१५ वर्ष), सुमनकुमारी लोध (९ वर्ष), सरिता बनिया (१३ वर्ष), रुचि बनिया (१५ वर्ष), प्रियंका लोध (३६ वर्ष), पारु लोध (११ वर्ष) र वडा नम्वर ११ निवासी लिलावती कुर्मी (वर्ष ३६) रहेका छन् ।

विशाल लोध (८ वर्ष), मित्तल कुर्मी (३१ वर्ष), परिक्रमा लोध (१२ वर्ष), तारावती कुर्मी (५७ वर्ष), प्रितिया लोध (२० वर्ष), रामप्रसाद लोध (१० वर्ष) तथा वडा नम्वर ११ निवासी मेनका वर्मा (११ वर्ष), परिक्रमा लोध (११ वर्ष) को गुलरिया अस्पतालमा उपचार भइरहेको छ। संजना लोध (१३ वर्ष) लाई डिस्चार्ज गरिएको छ।

त्यसैगरी मेलाबाट फर्किरहेको अटोलाई भारतीय बोलेरो गाडीले ठक्कर दिँदा अटोमा सवार ४ जना घाइते भएका छन् । अटो दुर्घटमा गुलरिया नगरपालिका निवासी उत्तमप्रसाद तिमिल्सिना (३१ वर्ष), धर्मेन्द्र गुप्ता (३५ वर्ष), भगवती क्षेत्री (४० वर्ष) र आयुष घाइते भएका छन्।गम्भीर घाइते दुईजनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

सबै घाइतेको गुलरिया अस्पतालमा सामाजिक सुरक्षा ईकाइले निशुल्क उपचार र एम्बुलेन्सको व्यवस्था मिलाएको अस्पतालले जानकारी दिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Source : annapurnapost