युवाहरु ऋणका लागि शैक्षिक प्रमाणपत्र धितो राख्न उत्सुक देखिएनन् — अर्थमन्त्री

जेठ २३, काठमाडौं — अर्थमन्त्री डाक्टर युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन युवाहरु उत्सुक नदेखिएको बताएका छन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सरकार ऋण दिन तयार भए पनि ऋण लिनेहरु तयार नभएको बताएका हुन् ।

उनले भने , ‘हामीले सुहलियतमा ऋण दिने भनेकै हो, दिनेहरु तयार छन् तर लिन तयार भएनन, ऋण लिन्छु भन्दा बैंकले दिएनन भने गुनासो सुनुवाइ हुन्छ तर हामीसँग गुनासो आएको छैन’।

सांसदहरुले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत ब्याजमा ऋण लिने योजना प्रभावकारी नभएको बताएका थिए ।