नेपाल र भियतनामी सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाईने

बैशाष २९, काठमाडौं —  नेपाल र भियतनामी सरकारी तथा कूटनीतिकहरुलाई भिसा नचाईने भएको छ । दुई देशका अधिकारीबीचको सहमतिमा भएको हस्ताक्षर अनुसार नेपाल र भियतनामी सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला यस्तो उपलव्धि हासिल भएको हो । प्रधानमन्त्री ओलीको शनिबार भियतनामका समकक्षी ग्युगन सुआन फुकसँगको भेटवार्तापछि नेपाल र भियतनामका अधिकारीबीच १६ बुँदे सहमति भएको छ ।

सहमति पत्रमा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ ।

भियतनामले नेपाली सामान आयात गर्ने र नेपालमा भियतनामका लगानीकर्ता तथा व्यवसायीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति पनि भएको छ । व्यापार तथा लगानी सम्बन्धी सम्झौताको लागि पहल गर्ने सहमति पत्रमा उल्लेख छ ।

नेपाल चेम्बर अफ कमर्स र भियतनाम चेम्बर अफ कमर्सबीच सन् २०१८ मा भएको सम्झौतालाई नवीकरण गर्ने, पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने पनि सहमति भएको छ ।

विदेशमन्त्री स्तरीय दुई पक्षीय परामर्श संयन्त्र निर्माण गर्ने, क्षेत्रीय र अन्तर्रा्ष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, भियतनामको आन्तरिक सुरक्षा मन्त्रालय र नेपालको गृहमन्त्रालयबीच फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने र त्यसका लागि छलफल सुरु गर्ने सहमति पनि भएको छ ।

भेटवार्तामा भियतनामका प्रधानमन्त्री ग्युगन सुआन फुकले सन् २०२० र २०२१ सम्म संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने लक्ष्य राखेको र त्यसका लागि नेपालले सहयोग गरी प्रधानमन्त्री ओलीले वचन दिँदै उचित समयमा नेपाल भ्रमणका लागि निम्तो दिएका थिए ।