एनएमबि बैँक, राष्ट्रिय युवा परिषद् र रिटर्नी माईग्रेन्ट नेपालसँग त्रिपक्षीय सम्झौता

वैशाख २४, काठमाडौं – एनएमबि बैँक, राष्ट्रिय युवा परिषद् र रिटर्नी माईग्रेन्ट नेपालसँग मंगलबार त्रिपक्षीय सम्झौता भएको छ ।

एनएमबि बैँकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र रिटर्नी माईग्रेन्टका अध्यक्ष उत्तम अधिकारीवीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

एनएमबि बैँकले युवालाई उत्पादनसँग जोड्न भन्दै वैदेशिक रोजगारबाट फिर्ता भएका व्यक्तिलाई लक्षित गरी नेपालको मौलिक पहिचान, कृषि, पर्यटन, वन, जडिबुटि, खनिज तथा जलस्रोत र विज्ञान तथा प्रविधि क्षेत्रहरुमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न र युवा उधमशीलता प्रबद्र्धन गर्ने उद्देश्यका साथ सम्झौता गरिएको हो ।

सम्झौता अन्तर्गत तीनै पक्षले आपसी सहकार्यमा अर्थ मन्त्रालयको सहुलियतपूर्ण कर्जाका लागी ब्याज अनुदानसम्वन्धी एकीकृत कार्यविधि २०७५ कार्यान्वयनमा सहयोग पुर्याउने र उधमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्नलाई रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्ने योजना रहेको छ ।

एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्वन्धि एकिकृत कार्यविधि २०७५ भित्र नपर्ने कर्जाहरुको हकमा समेत बैँकले त्रिपक्षिय सम्झौता बमोजिम कर्जा प्रवाह गर्न बताए ।

यसैगरि रिटर्नी माईग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले कार्यविधि २०७५ बमोजिम योग्य रहेका बैदेशिक रोजगारबाट फिर्ता भएका ब्यक्तिलाई परिषद्को समन्वयमा माईग्रेन्ट नेपालको सिफारिसका आधारमा बैँकले प्रति ब्यक्ति अधिकतम १० लाखसम्म परियोजना धितोमा कर्जा प्रवाह गरि हाललाई एक अर्बसम्म ऋण प्रवाह गर्ने र माग र आवश्यकताको बढाउदै लाने गरि त्रिपक्षीय सम्झौता गरिएकोे बताए ।