तातोपानी नाका छिट्टै खुल्दै, चीन हुँदै तेस्रो मुलुकसँग पनि व्यापार गर्न सकिने

वैशाख १९, काठमाडौं — सिन्धुपाल्चोकको तातोपानी नाका मे महिनामै सञ्चालन हुने भएको छ ।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सिन्धुपाल्चोकको तातोपानी नाका भौतिक संरचनाको निर्माण कार्य चीनतर्फ सकिएको र नेपालतर्फको काम भइरहेकोले तातोपानी नाका छिट्टै खुल्ने बताएको हो ।

गत चैत २६ गते परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद अग्नि सापकोटा, घनश्याम भुसाल, पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतको टोलीबाट तातोपानी नाकाको स्थलगत निरीक्षण भएको थियो ।

विस २०७२ को गोर्खा भूकम्पपछि चीनसँग जोडिएको तातोपानी नाका बन्द अवस्थामा रहेको छ । हाल अरनिको राजमार्गको बाह्रबिसे–तातोपानी खण्डको सडक तथा पुल निर्माणको काम भइरहेको छ ।

यसले औपचारिक रुपमा चीनको भूमि हुँदै समुन्द्रसम्म नेपालको व्यापारको ढोका खुलेको मन्त्री ज्ञवालीको दाबी रहेको छ । यद्यपी ब्यवहारिक कठिनाई भने रही रहेको छ ।

‘कानुनी हिसाबले चीनसँगको यातायात तथा पारवहन सम्झौताको कार्यान्वयन कार्यन्वयन भएकाले चीन हुँदै तेस्रो मुलुकसँग व्यापारको ढोका खुलेको हो ।  राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा यातायात पारवाहन प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको थियो ।