‘गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा’ कार्यक्रम सुरु

वैशाख८, नुवाकोट — नुवाकोट दुप्चेश्वर गाउँपालिकामा ‘गर्भवती महिलाका लागि घरमा झण्डा र हातमा अन्डा’ कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले जनप्रतिनिधि र स्वास्थ्यकर्मीसँग गएको बिहीबार र शुक्रबार अन्तत्र्रिmया कार्यक्रम गरी यस्तो कार्यक्रम सुरु गरेको हो ।

गाउँपाकिलाको समुन्द्राटारकी ८ महिने गर्भवती छेमेन शेर्पाको घरमा झण्डा राखेर एक क्रेट अन्डा प्रदान गरी सो कार्यक्रमको सुरु भएको छ ।

गाउँपालिकाका अनुसार पालिकाभित्रका गर्भवती महिलाका लागि स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा वृद्धि गरी मातृशिशु स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यसहित सो कार्यक्रम सुरु गरिएको हो ।

यस कार्यक्रममार्फत गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरीको रूपमा घोषणा गर्ने कार्य रहेको छ ।

गाउँपालिकाभित्र सम्भावित गर्भवतीको संख्या पाँच सय ९८ जना रहेका छन् । प्रत्येक गर्भवती महिलालाई एक सय २० वटा अन्डा (चारपटक गर्भजाँच गराउँदा ३० वटाका दरले) प्रदान गर्दा १० लाख ७६ हजार चार सय रुपैयाँ लाग्ने बताइएको छ ।