अनधिकृत रूपमा बिक्री गरेको सरकारी जग्गामा भाटभटेनी र एनआरएन भवन निर्माण

चैत २४, काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रूपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएको खुल्न आएको छ ।  निर्माधिन संरचना र त्यससँग जोडिएको जग्गा सरकारका नाममा ल्याउने तयारी भइरहेको छ ।

भाटभटेनीका सञ्चालकले राणा परिवारबाट तथा एनआरएनएले रामकुमार सुवेदी, शोभाकान्त ढकाल तथा उनका आफन्तबाट उक्त जग्गा खरिद गरेका थिए । व्यक्तिगत र संयुक्त गरी करिब ६० रोपनी तथा एनआरएनएका नाममा तीन रोपनी एक आना जग्गा बिक्री गरिएको छ । त्यसबाहेक ललितानिवासका तत्कालीन भोगाधिकारीले अन्य भूमाफिया र मालपोत कार्यालका तत्कालीन कर्मचारीलाई पनि जग्गा बिक्री गरेको पाइएको अनुसन्धानमा संलग्न स्रोतको भनाइ छ ।

२०७१ सालको फागुनमा प्रधानमन्त्री सुशील कोइरालाले एनआरएन भवन शिलान्यास गरेका थिए । भवन शिलान्यासका क्रममा तत्कालीन एनआरएनका अध्यक्ष शेष घलेले भवनको लागत ३० करोडभन्दा बढी रहेको बताएका थिए ।

५४ वर्षअघि सरकारले सुवर्णशमशेर तथा उनका आफन्तका नाममा रहेको ललितानिवासको जग्गा मुआब्जा दिएर अधिग्रहण गरेको थियो । त्यसबाहेक सुवर्ण र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गामात्रै सरकारले राजकाज मुद्दा लगाएर जफत गरेको सरकारी अभिलेखमा उल्लेख छ। ललितानिवास परिसरको बाँकी दुई सय ८४ रोपनी जग्गा भोगाधिकारीलाई मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण गरिएको थियो।