टुङ्गियो नेकपाको प्रवास कमिटीको एकता, एमालेलाई १९ र माओवादीलाई १५ देश

चैत, २० काठमाडौं — काठमाडौँ । सत्तारुढ दल नेकपाको प्रवास कमिटी एकता टुंगिएको छ । पार्टी एकताका दस महिनापछि नेकपाले प्रवासमा बनाएका भ्रातृ सङ्गठनको एकताको प्रस्ताव तयार पारेको छ । सचिवालय वा स्थायी कमिटीले अनुमोदन गरेपछि एकता प्रक्रिया टुङ्गिनेछ ।

३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको नेकपाले जनाएको छ । तत्कालीन एमाले र माओवादीले पूर्वी एसिया, युरोप, अमेरिका, खाडी राष्ट्र, अस्ट्रेलिया र भारतलगायतका ३६ देशमा प्रवासी सङ्गठन बनाएका थिए । ३६ देशमा रहेका प्रवासी सङ्गठनमध्ये ३४ देशमा नेतृत्वको भागबन्डासहित एकता प्रस्ताव तयार भएको छ ।

कसलाई कुन देश पर्यो ?
एमालेलाई १९ देश
तत्कालीन एमालेले अमेरिका, क्यानडा, फिनल्यान्ड, पोर्चुगल, रसिया, चेक गणतन्त्र, इटली, फ्रान्स, पोल्यान्ड, जर्मनी, नर्वे, न्युजिल्यान्ड, कतार, बहराइन, कुवेत, इजरायल, दक्षिण कोरिया, हङ्कङ र भारतसहित १९ देशको नेतृत्व लिने सहमति जुटेको छ । यी देशमा तत्कालीन एमालेले नेतृत्व लिने सहमति भए पनि व्यक्तिबारे सहमति जुटेको छैन ।

तत्कालीन माओवादीलाई १५ देश
तत्कालीन माओवादीले स्विजरल्यान्ड, आयरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रिया, स्विडेन, डेनमार्क, जापान, संयुक्त अरब इमिरेट्स, साउदी अरब,
ओमन, साइप्रस, मलेसिया, मकाउ सहित १५ देशको नेतृत्व गर्ने सहमति जुटेको छ ।

२ देशको टुङ्गिन बाँकी
३४ देशको नेतृत्व टुङ्गिए पनि अझै २ देशको नेतृत्व कसले लिने भन्नेबारे विवाद कायम छ । अस्ट्रेलिया र स्पेनका सङ्गठनको नेृत्वलाई दुवै पार्टीको दाबी कायम छ ।