राजपाले आज पनि संसद बैठक अबरोध गर्ने

चैत ४, काठमाडौ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएको छ ।
राजपाले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने अडान बताउदै आएको छ ।

यसअघि आइतबार बसेको प्रतिनिधिसभाको बैठक पनि राजपाले अवरुद्ध गरेको थियो। आइतबार राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले लाल प्रतिवेदन सार्वजनिक नभएसम्म सदनको कामकारवाही अगाडि बढ्न नसक्ने जानकारी दिएका थिए ।

आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक सम्बन्धी समितिको प्रतिवेदन सहित प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।