आन्दोलित शिक्षकलाई पठनपाठनमा ध्यान दिन मन्त्रालयको आग्रह

फागुन २१ काठमाडौ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुगेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वार्षिक परीक्षा र एसइइ परीक्षा नजिकिएको समयमा पठनपाठन तीब्र बनाउनु पर्नेमा बालबालिकाको पढ्न पाउने अधिकार कुण्ठित हुने गरी आन्दोलनका कार्यक्रम नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

निर्वाध पठनपाठन र विद्यालय सञ्चालनको वातावरणका लागि पहल अघि बढाउन पनि स्थानीय तहलाई मन्त्रालयले स्मरण गराएको छ । संविधानतः मावि शिक्षासम्मको अधिकार विद्यालयको हो । शिक्षकले विभिन्न सेवा सुविधा र स्थायी गर्नुपर्ने माग राखी सडक र विद्यालय केन्द्रित आन्दोलन गर्दै आएका छन् ।