आन्दोलित शिक्षकहरुमाथि प्रहरीद्धारा लाठीचार्ज

फागुन १९ काठमाडौ –स्थायीको माग गर्दै आन्दोलनमा उत्रिएका राहत तथा बालविकास शिक्षकको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । माईतिरघ मण्डलामा विरोध प्रदर्शन गरिरहेका शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै पानीको फोहोरा हानेर प्रदर्शनकारीलाई तितरविरत पारेको हो ।

माईतिघर मण्डलाबाट शुरु शिक्षकको प्रदर्शन संघीय संसद भवन तिर जाँदै गर्दा प्रहरीले विजुली बजारमा रोकेको थियो । धकेला धकेल गर्दै शिक्षकको प्रदर्शन अघि बढेपछि बानेश्वर चोक नपुग्दै प्रहरीले हस्तक्षेप गरेको हो ।

निषेधित क्षेत्रमा प्रवेश नगर्न प्रहरीले आग्रह गर्दा पनि प्रदर्शन अघि बढेपछि प्रहरीले पानीको फोहोरा हानेर तितरवितर बनाएको हो ।

राहत र उच्च माध्यमिक तहको शिक्षक अनुदान कोटा स्वतः स्थायी दरबन्दीमा रुपान्तरण गर्ने गरी राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार पारिएको खबर सार्वजनिक भएसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । देशभरबाट काठमाडौं केन्द्रित भएर राहत शिक्षकले आन्दोलन शुरु गरेका छन् ।