राउटे समुदायलाई मासिक तलब १५ सय

फागुन, १२ काठमाडौ — फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले जागिर पाएका छन् । सुर्खेतको लेकबेँसी नगरपालिकामा बसोबास गरेका राउटेका पाँच युवकले नियुक्तिपत्र बुझेका छन् ।

दैलेखस्थित गैरसरकारी संस्था सोसेक नेपालले शनिबार एक कार्यक्रमका बीच राउटेलाई नियुक्तिपत्र प्रदान गरेको हो ।

राउटे समुदायको संरक्षण गरी उनीहरुलाई काममा जिम्मेवारीबोध गराउने उद्देश्यले जागिर दिइएको हो । नियुक्तिपत्रअनुसार उनीहरुले प्रतिव्यक्ति मासिक एक हजार ५०० रूपैयाँ पाउने भएका छन् ।

त्यसैबीच राउटे समुदायका बालबालिकालाई पोषणको लागि सर्वोत्तम पिठो पनि प्रदान गरिएको छ । बालबालिकामा कुपोषणको समस्या देखिएकाले उनीहरुलाई सर्वाेत्तम पिठो प्रदान गरिएको हो ।
रासस