एनसेल कार्यालय अगाडिको बम विस्फोटका घाइते गुरूङको मुत्यु

फागुन, ११ काठमाडौ — ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको गेट अगाडि शुक्रबार साँझ भएको बम विस्फोटका घाइते भएका मध्ये एकको मृत्यु भएको छ।

लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।

घाइते गुरुङको दुवै खुट्टा चुँडिएको, कम्मरका हड्डीहरु भाँचिएका र रगत बग्ने ठूला नशाहरु काटिएको पाइएको अस्पतालले जनाएको छ। । घाइते गुरूङलाई अल्का अस्पताल लगिएको थियो। त्यसपछि बीएन्डबी हुँदै अन्तिममा मेडिसिटी अस्पताल रेफर गरिएको थियो।

घटनाका अन्य घाइते ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।