गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट ’ पुन यूट्यूबमा अपलोड गर्न –राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको आग्रह

फागुन ५, काठमाडौं –राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले रिलिज भएदेखी विवादमा मुछिएको गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट ’ यूट्यूबमा पुन अपलोडका लागि आग्रह गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आइतबार बसेको बैठकले उक्त गीतका विषयमा लामो छलफल गरेपछि फेरि जस्ताको तस्तै यूट्यूबमा राख्न आग्रह गर्ने निर्णय गरेको हो । बैठकमा प्रतिष्ठानका उपाध्यक्ष समेत रहेका गायक पशुपति शर्मा पनि उपस्थित थिए ।

गायक पशुपति शर्माले सत्ता पक्षका नेता तथा कार्यकर्ता र कर्मचारीले विरोध गरेको भन्दै रिलिज गरेको दुई दिनमै उत्त गीतलाई यूट्यूबबाट हटाएका थिए । गीत यूट्यूबाट हटाइएपछि गीत संगीतका पारखीले गायक शर्माको पक्ष लिदै सामाजिक सञ्जालमार्फत पुन अपलोड गर्न माग गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले ‘आधिकारिक रुपमा यो गीत हटाउन कसैले नभनेको र हटाउनु आवश्यक नदेखिएकाले फेरि यूट्यूबमा जस्ताको तस्तै अपलोडका लागि पशुपति शर्मालाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए ।

गायक पशुपति शर्माले गीतमा आफूले व्यक्तिविशेषको भन्दा प्रवृत्तिको विरोध गर्न खोजेको स्पष्टिकरण दिएका छन् । ‘म कुनै पार्टीसित आवद्ध छैन र कुनै पार्टीको विरोधि पनि होइन,’ पशुपतिले भने, ‘कसैप्रति पूर्वाग्रही भएर लेखेको थिइनँ । विवाद आउला भन्ने अनुमान पनि भएन ।’

यसैविच गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा ‘गीतको समर्थन जनाउँदै माइतीघरमा विवेकशील नेपाली दल समर्थित युवाहरुले प्रदर्शन गरे ।

राजधानीको माइतीघर लगायत देशका विभिन्न स्थानमा सार्वजनिकरुपमा गीत बजाउँदै प्रदर्शन गरेका हुन् । माइतीघरमा गायक शर्माको गीत बजाउँदै अभिव्यक्ति स्वतन्त्रता प्रति प्रहार नगर्न चेतावनी दिएका थिए ।

नेकपा कार्यकर्ताहरुले राष्ट्रपतिको हेलिकोप्टर प्रसंग, यमराजको शासन, दलका कार्यकर्तालाई कुकुर भनेको विषयमा विरोध जनाएका थिए। गीतमा सरकारी कर्मचारीले जागिर खाएको दुई वर्षमा घर बनाएको, सरकारी अस्पतालका चिकित्सक निजी अस्पतालमा विरामी पठाउने गरेका विकृतिलाई लयमा ढालिएको छ।