तिब्र विरोध र दबाबपछि पशुपति शर्माले लुट्न सके लुट कान्छा गीत युट्युबबाट हटाए

फागुन ५, काठमाडौं –पशुपति शर्माको लुट्न सके लुट कान्छा भन्ने बोलको गीत शुक्रबार रिजिल भएको दुईदिनै युट्युबबाट हटाइएको छ ।
गीतमा प्रयोग भएका केही शब्दले विवाद सिर्जना गरेको भन्दै सरकार पक्षका नेता तथा कर्मचारी, कार्यकर्ताको तिब्र आक्रोश, विरोध र दबाबपछि युट्युबबाट हटाइएको हो ।

सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए ।

कार्यकर्ताहरूको आक्रोश र दबाबका कारण गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका छन् । शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको फेसबुकमा लेखेका छन् ।

गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्डलगायतका विषयमा सरकारलाई ब्यंग्य गरिएको छ ।

पशुपति शर्माले आफ्नो अकाउन्टबाट गीत हटाए पनि गीत संगीतका पारखीहरुले फेसबुक र ट्वीटरमा युट्युब पेजमार्फत यो गीत पुनः अपलोड र सेयर गर्ने अभियान नै चलाइएका छन् ।

पशुपति शर्माको फेसवुक स्टाटस

आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तक ज्यु हरुमा सादर नमस्कार !

हिजो रिलीज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागीताको लागी हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सृजना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गईरहेको छु ।

सर्वप्रथम त म यहाँ हरुलाई जानकारी गराउन चाहान्छु की म राजनिती लाई त्यती गहिराई बाट बुझ्दिन । तर शुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगती लाई ब्यंग्य गरोस भन्ने मेरो एकमात्र ध्यय थियो।

मैले कुनै राजनैतीक आग्रह या पुर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्था संग मेरो कुनैकिसीमको पुर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असंतुष्टी रहन गएकोले जुन जुन शब्दमा असंतुष्टी देखीयो म ति शब्दहरु लाई परिमार्जन गर्न गईरहेको छु । केही समय लाग्ला जुन शब्दमा असंतुष्टी देखीयो ति शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने संझीएको छु।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदय देखी माफी चाहान्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगती माथी प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजीटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहीत पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युब बाट मैले हटाउने निर्णय गरेको छु ।

र अन्त्यमा म पनि यही देशको एक सचेत नागरीक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवार हरुको अकर्मण्यता बिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गीक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्याउन चाहन्छु ।

धन्यवाद ।
पशुपती शर्मा