‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन विधेयक संघीयता विरोधी भएको आरोप

माघ२९, काठमाडौं – संविधान र संघीयताको मर्म विपरित ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरीक्षण र समन्वय विधेयक’ ल्याएको भन्दै सरकारको आलोचना सुरु भएको छ ।

मंगलबार संसदमा विधेयकमाथि भएको छलफलमा सरकारमै रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का साँसदहरुले विरोध गरेको हो ।

नेकपाका सांसदहरु जर्नादन शर्मा प्रभाकर, नवराज सिलवाल, रेखा शर्मा, प्रदीप यादवलगायतले आलोचना गरेका हुन् । संविधान विपरीत विधेयक ल्याएको भन्दै प्रमुख विपक्षी कांग्रेसका अमरेशकुमार सिंह, भरतकुमार साह लगायतले पनि विरोध गरेका छन् ।

अहिलेको विधेयक पारित भएमा संघ र प्रदेशबीच थप द्वन्द्व हुने पूर्वगृहमन्त्री समेत रहेका नेकपा सांसद जनार्दन शर्मको दाबी रहेको छ ।
संविधानको धारा २३२ को उपधारा १ मा ‘संघ, प्रदेश र स्थानीय तहको सम्बन्ध सहकार्य, सहअस्तित्व र समन्वयको सिद्दान्त हुनेछ ।’ भनी उल्लेख गरिएको व्यवस्था विपरीत यो विधेयक आउन दुर्भाग्यपूर्ण भएको नेकपाका साँसदहरुले बताए ।

विधेयक संघीयता विरोधी भएकाले सहजै स्वीकारर्न सकिने अवस्था नरहेको नेकपाका साँसद तथा पुर्व गृहमन्त्री शर्माले बताए ।