प्रदेश नं १ मा आजबाट श्रम स्वीकृति पाइने

 

माघ, २३ काठमाडौ —वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आजदेखि प्रदेश नं १ को अस्थायी राजधानी विराटनगरबाट पनि श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयबाट तत्कालका लागि पुनः श्रम स्वीकृति लगायतका सेवा प्रदान गर्ने तयारी गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रममन्त्री विष्टले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने घोषणा गर्नुभएको थियो । सोही अनुरुप सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि प्रदेशबाटै पुनः श्रम स्वीकृति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले यसअघि प्रदेश नं २ जनकपुर, प्रदेश नं ५ बुटवल, गण्डकी प्रदेश पोखरा, कर्णाली प्रदेश सुर्खेत, सुदूरपश्चिम प्रदेश धनगढीबाट वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रदान गर्न थालेको थियो ।