संघीयतामा विकास व्यवस्थापनका रणनीतिहरु

दामोदर रेग्मी

विकास एउटा गतिशील सामयिक आवश्यकीय परिवर्तन हो । यो एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । परिवर्तित अवधारणाले विकास भनेको अर्थतन्त्रको विकास हो तर यसले गरिवी, असमानता र वेरोजगारी पनि हटाउन सक्नु पर्दछ भन्ने मान्यतालाई बढी जोड दिएको छ । यसरी विकासलाई रोजगारी सिर्जनाको संयन्त्रको रुपमा समेत लिने गरिन्छ ।विकास एउटा वहुआयामिक विषय हो । यो विभिन्न पक्षहरु संग अन्तरसम्वन्ध राख्ने विषय पनि हो । वहुआयामिक विषयहरुवीच समन्वय संयन्त्रको व्यवस्थापन कौशलता नै विकास व्यवस्थापन हो ।

विकास व्यवस्थापन को अवधारणा परम्परागत विकास प्रयासको अवधारणा भन्दा अलि फरक पनि छ । यो एउटा रणनीतिक व्यवस्थापन हो जसले गरीवमुखी विकास, दिगो विकास, वातावरण मैत्री विकास प्रक्रियालाई मूल लक्ष्य बनाई विकास साझेदार, साधन श्रोत, आन्तरिक र वाह्य सह कर्ताहरुवीच साझा र समन्वयात्मक प्रयासहरुको सुव्यवस्थापनमा जोड दिइ विकास प्रयासलाई पारदर्शी र समावेशी बनाउने प्रयास गर्दछ । नयाँ सार्वजनिक व्यवस्थापन , व्यवस्थापनवाद, बजार संयन्त्रमा आधारित सार्वजनिक प्रशासन , विश्वव्यापीकरणले निम्त्याएका अवसर र चुनौतीहरुको सन्दर्भमा विकास व्यवस्थापनको परम्परागत मान्यतामा सामयिक परिवर्तनको आवश्यकता बोध भएको हो । यस सन्दर्भमा विकास प्रयासले गरिव केन्द्रित विकास, गतिशील र प्रभावकारी सार्वजनिक निजी साझेदारी, सामाजिक समावेशीकरण, जलवायु परिवर्तन, वातावरणीय पक्ष, मानव अधिकारको संरक्षण, मानव सुरक्षा, सामाजिक सदभाव, अन्य जीवित तथा गैर जीवित पक्षको अधिकारलाई सम्बोधन गर्नु आवश्यक मात्र होइन अपरिहार्य हुन गएको छ ।

विकास आफैमा वहु आयामिक विषय हो । विकास व्यवस्थापन विकास प्रवाहको सकारात्मक तथा पूर्व सक्रिय अवधारणा भएको र विकासका आवश्यकतालाई साधन श्रोतको उपलब्धताका आधारमा अपेक्षित उपलब्धिमा रुपान्तरण गर्नुपर्ने र सामाजिक, प्राविधिक र अन्य सामयिक परिवर्तनको सन्दर्भमा विकासका प्रयासहरुमा पनि तदनुरुप क्रमिक सुधार ल्याउनुपर्ने विषय भएकोले विकास व्यवस्थापन एउटा जटिल विज्ञान हो । विकासको आवश्यकता बोध , संरचनाको निर्माण पक्ष , कार्यान्वयन पक्ष प्रभावकारिता तथा दक्षताको पक्ष समन्वयको पक्ष , दिगोपननाको सुनिश्चितताको पक्ष र विकासको प्रतिफलको उपलब्धताको पक्ष को सन्दर्भमा राजनैतिक दूरदर्शिता, प्रशासनिक व्यवसायिकता र अग्रसरता तथा प्रभावकारी रणनीति निर्माण जस्ता पक्षहरु आवश्यक हुन्छन् ।

विकासलाई मूलतः आर्थिक वृद्धि र सोही अनुरुपको सकारात्मक सामाजिक परिवर्तनको रुपमा लिने गरिएको छ । विकास प्रयासले जनताको सामाजिक, आर्थिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने बढ्दो जनसंख्या वृद्धिमा न्यूनीकरण, आवश्यक पूर्वाधार र कलकारखानाको विकास, रोजगारीको अवसरको सिर्जना, शैक्षिक विकास, सूचना प्रविधिको उच्चतम प्रयोग जस्ता विषयहरुमा जोडदिनु पर्ने यस अघि स्थापित मान्यताले निरन्तरता पाउँदै आएको छ ।

विकासको तहको मापनमा मानव विकास सूचकांक (सामाजिक पक्ष) प्रतिव्यक्ति आय, कूल गार्हस्थ उत्पादन आर्थिक वृद्धिदर जस्ता आर्थिक पक्षहरु प्रयोगमा आएका छन् । केही बर्षयता भूटानले ग्रस ह्याप्पी इन्डेक्स (सुखपना र आत्म सन्तुष्टिको सूचकांक) प्रयोगमा ल्याएको छ । यसर्थ विकास व्यवस्थापन आर्थिक, सामाजिक आयामको अतिरिक्त आत्म सन्तुष्टिको आयाम पनि हो ।विकासको दायरालाई विस्तार गर्ने क्रममा विश्वको प्रशासनिक र आर्थिक आयाममा आएको परिवर्तन को सन्दर्भमा महिला तथा सीमान्त वर्ग समेतको सहभागिता, समावेसी विकास, सीमान्तकृत वर्गको उत्थान, दिगो विकास र पर्यावरण, गरिवी निवारण, आर्थिक उदारीकरणको सन्दर्भमा विकास प्रयासमा सरकार र साझेदारहरुको भूमिका निर्धारण जस्ता अन्तरसम्वन्धित विषयहरु समसामयिक विषयको रुपमा देखिएका छन । तसर्थ अवको विकास प्रयास भनेको देश विशेषको यथार्थता अनुरुप विकासको उपस्थिति अनुभव गर्न नपाएइको क्षेत्रमा विकास प्रयासको शीघ्र शुरुवात, विकास प्रयास थालनी भएका क्षेत्रमा विकास प्रयासलाई सामाजिक आर्थिक मापन सूचकांक अनुकुल बनाई आत्म सन्तुष्टिको प्रप्तिको तहमा पु¥याउने र विकासका सामयिक विषयहरुलाई विकास व्यवस्थापनको प्रक्रियाले सम्बोधन गर्ने गरी अगाडी बढ्ने रणनीति लिनु पर्ने आवश्यकता देखिन्छ ।

अन्य छिमेकी र हालका केही विकसित देशहरुको तुलनामा विकासको थालनी ढीलै गरेको भएपनि नेपालको विकास व्यवस्थापनका क्षेत्रमा धेरै अवसरहरु विद्यमान रहेका छन् । पटक पटकको राजनैतिक परिवर्तनले नेपालमा विकासका संभावनाका अवसरहरुको उजागर गराएको छ । विश्व आर्थिक, सामाजिक, प्रशासनिक, राजनैतिक, प्रविधिका क्षेत्रमा आएका आयामिक पविर्तनहरुलाई यथाशक्य अवलम्बन गर्न यस्ता परिवर्तनहरु सहायक सिध्द सावित भए । यसै क्रममा प्रजातान्त्रिक शासन प्रणालीको अवलम्बन, शासकीय प्रणालीमा सुशासनको अवधारणाको प्रयोग, उदार आर्थिक नीतिको अवलम्बन, भ्रष्टाचार न्यूनीकरणका प्रयासहरु, सीमान्तकृत वर्गहरुको सशक्तिकरण र सहभागिता जस्ता सम सामयिक नीतिको ग्रहण गरेवाट विकास नीति तर्जुमा प्रक्रिया सार्थक वन्ने अवसर प्राप्त भएको छ ।
प्रजातान्त्रिक र उदार शासन प्रणालीको अवलम्बन गर्ने क्रममा विभिन्न बहुपक्षीय, क्षेत्रीय, व्दिपक्षीय संस्थाहरुको र अन्तर्राष्ट्यि अभिसन्धीहरुको पक्षधर वन्नै पर्ने परिस्थितिले अन्तर्राष्ट्यि रुपमा विकसित र उदीयमान अवधारणलाई राष्ट्यि आवश्यकता संग समाहित गर्दै जाने अवसर पनि नेपाललाई प्राप्त हुनु स्वभाविकै हो ।

अन्तर्राष्ट्यि र क्षेत्रीय संस्थाहरु संग बढ्दै गएको निकटताले एकातर्फ साधन श्रोतको न्यूनताको समस्याको निराकरण गर्न सफल भयो भने अर्को तर्फ यो साझेदारीले अन्तर्राष्ट्यि रुपमा विकसित र उदीयमान अवधारणलाई नेपालको राष्ट्यि आवश्यकता र वस्तुगत यथार्थता अनुरुपको कार्यान्वयन संयन्त्र निर्माण गर्न र सो अनुरुप लक्ष्य हासिल गर्नमा सहयोग पु¥याएको छ । निजी क्षेत्र संग बढ्दो सहकार्य, सार्वजनिक निजी साझेदारी अवधारणा , गैर सरकारी संस्था संगको साझेदारी, सामुदायिक विकास र सामुदायिक सशक्तिकरणमा जोड जस्ता कार्यक्रमहरुले जनसहभागिता अभिवृध्दि ,क्षमता विकास, गरीवमुखी कार्यक्रमको कार्यान्वयन, कार्यक्रमको दिगोपना ,समावेशी विकास ,लोकतन्त्र, सुशासन र मानव अधिकार प्रबध्र्दन जस्ता कार्यमा सहयोग पु¥याएको छ ।यसवाट समुदायको सशक्तिकरण, जन सहभागितामा अभिवृध्दि मार्फत स्थानीय आवश्यकताको पहिचान गर्न तथा विकास प्रयासमा जनता र समुदायको स्वमित्वको भावनाको अभिवृध्दि गर्ने जटिल तर महत्वपूर्ण कार्यमा सहजता प्रदान गरेको छ ।

नेपालमा भएको परिवर्तनहरुले अवसरका धेरै नयां आयामहरु सिर्जना गरेकै हुन् तर राजनैतिक परिवर्तनले ल्याएको संभावनालाई आर्थिक विकासको गतिले भेटाउने गरी व्यवहारपयोगी योजना र कार्यात्मक, व्यवहार र मानसिकतामा सुधार आउन नसकेको महशुस गरिएको छ । प्रजातान्त्रिक उपलब्धीलाई संस्थागत गर्ने क्षमताको अभाव, प्रजातान्त्रिक संस्कृतिको दिनानुदिन क्षयीकरण हुदै जानु , विश्व परिदृष्यमा देखापरेका सामयिक र आयामिक परिवर्तनहरु र सम्झौताहरुको पक्षधर बन्न देखाईएको आतुरता अनुरुप तत्पश्चातको कार्यान्वयनमा अपेक्षित उत्साह नदेखिनु नेपालका विकास व्यवस्थापनका चुनौतीहरु हुन् । राजनैतिक र प्रशासनिक संयन्त्रमा दूरदर्शिता र व्यवसायिकताको अभाव, निजी क्षेत्रले विकास कार्यमा अपेक्षित सक्रियता प्रदर्शन गर्न नसक्नु नागरिक समाज, पेशागत संगठनहरु अस्वस्थ राजनैतिक प्रतिस्पर्धा वाट प्रभावित हुनु, वैदेशिक सहायता प्राप्ति र उपयोगको क्षमाता वृध्दिमा उचित गृहकार्यको अभाव , खर्च गर्न सक्ने क्षमताको अभाव, प्रशासनिक र राजनैतिक संयन्त्र भ्रष्टाचारवाट मुक्त हुन नसकिरहेको स्थिति छ । बढ्दो राजनैतिक संक्रमणले स्वदेशी र विदेशी लगानीकर्तामा आकर्षणको अभाव देखिन्छ । विकासको दृष्टिले बढी संभावना देखिएका पर्यटन, जलश्रोत र पूर्वाधार विकासले राजनैतिक स्थायित्व र नीतिगत निरन्तरताको माग गरेको छ । त्यस्तै आर्थिक विकासको भरलाग्दो वैदेशिक रोजगारको क्षेत्र समस्याग्रस्त छ ।
नेपालको विकास व्यवस्थापनमा अन्यत्र जस्तै अवसर र चुनौतीहरु विद्यमान रहेका छन् । अवसर र चुनौती यी फरक धारका दुई विषयहरु हुन् । एकाध अपवाद वाहेक यी दुवै संग संगै हिड्छन एक अर्काको साथ कहिल्यै छोड्दैनन् । अवसरको उपयोगले यात्रालाई सकारात्मक परिणति तर्फ लग्दछ भने चुनौतीको सामनाले यात्रालाई अझ बढी परिस्कृत र गुणात्मक बनाउछ । यसर्थ हाम्रा विकास व्यवस्थापनका प्रयासहरु पनि चुनौतीहरुको न्यूनीकरण अवसरको अत्यधिक उपयोग गर्ने तर्फ परिलक्षित हुनु आवश्यक छ । हाम्रा विकासकासंभावनाहरुले राजनैतिक स्थायित्व र नीतिगत निरन्तरताको माग गरेका छन् यी संभावनाहरुलाईअवसरमा वदल्ने दायित्व पनि हाम्रै हो ।
( दामोदर रेग्मी संघीयता विषयका समीक्षक , विश्लेषक र कुशल प्रशिक्षक हुन् उनका संघीयता, सार्वजनिक वित्त व्यवस्थापन, सार्वजनिक प्रशासन का विषयमा पुस्तक र विभिन्न लेखहरु प्रकाशित भएका छन् । निजका प्रतिस्पर्धात्मक परीक्षा उपयोगी सामग्रीहरु युट्युवमा समेत उपलब्ध हुने गरेको छ )