यात्रु ठग्ने ६ हजार ट्याक्सी चालक कारबाहीमा

माघ, २२ काठमाडौँ– विभिन्न बहानामा यात्रुलाई ठग्ने ६ हजार ६६४ ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गरेको छ ।

कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारबाही गरेको हो ।  महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यात्रुसँग मोलमोलाइ गरी बढी भाडा लिने ट्याक्सी चालकका लागि विशेष अभियान सञ्चालन गरी कारबाहीगरिएको बताए। उनले भने “दैनिक ४० देखि ५० ट्राफिक प्रहरीलाई बढी भाडा लिने ट्याक्सी जाँचका लागि पठाउँदै आएका छौँ।”

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने रु ५०० देखि एक हजार ५०० रुपैयाँ सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्न महाशाखाले आग्रहसमेत गरेको छ । रासस