प्रशासन सेवा समूहका उपसचिवको समायोजन पत्र तयार भयो

माघ२०, काठमाडौं — प्रशासन सेवा समूहका उपसचिवले समायोजन भएको पत्र पाउने भएका छन् । सरकारले उनीहरुलाई समायोजन भएको पत्र दिने तयारी गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव केदारप्रसाद पनेरुले आइतबार आठ सय २४ जना उपसचिवलाई समायोजन गरिने तयारी भएको बताए ।  प्रशासन सेवा समूहका उपसचिवलाई संघ (केन्द्र सरकार) मातहत नै रहने गरी सरकारले समायोजनको पत्र दिन लागेको हो ।

मन्त्रालयले समायोजनका लागि पुस ११ गते २१ दिने सूचनाद्धारा आवेदन खुलाएको थियो । तर आवेदन नदिएका २२ जना उपसचिवलाई पनि मन्त्रालयले समायोजन गर्ने भएको छ । यसअघि मन्त्रिपरिषद्को स्वीकृतिमा मन्त्रालयले ५६ जना सचिवलाई समायोजनको पत्र दिएको थियो ।

सहसचिवको पनि समायोजन पत्र बनेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगिसकेको छ । ६ सय ६२ जना सहसचिवलाई समायोजन हुदैछन् ।

फागुन ३ गतेसम्म सबै तहका कर्मचारी समायोजन गर्ने सरकारको तयारी छ । त्यसपछि अधिकृतहरु पनि समायोजन हुनेछन् ।
७७ हजार निजामती कर्मचारी र अन्य सेवाका कर्मचारीले पनि समायोजन रोजेका छन् । यद्यपी १३ हजार बराबरले कर्मचारी समायोजनको फाराम भरेनन् ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी तोकेको छ ।