नेपाल पत्रकार महासंघको अध्यक्ष वा महासचिवमा महिला दावेदारीको माग

माघ १९ चितवन – नेपाल पत्रकार महासंघ महिला समितिले महासंघको अध्यक्ष वा महासचिवमा महिला उम्मेदवारीको माग गरेको छ । चितवनको पटिहानीमा शुक्रबार सम्पन्न महासंघको महिला समितिको राष्ट्रिय भेलाले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो ।

भेलाले प्रतक्ष्य निर्वाचन प्रणालीमार्फत अध्यक्ष वा महासचिव पदमा महिलाको व्यवस्था हुनेगरी विधान संशोधन गरिनुपर्ने उल्लेख गरेको छ । त्यसैगरी भेलाले जारी गरेको घोषणापत्रमा सरकारी संचार माध्यम, आयोग, समिति र सल्लाहकार, बोर्ड र कर्मचारी नियुक्तिमा राज्यले अंगीकार गरेको ३३ प्रतिशत महिला सहभागिता कार्यान्वयनको माग पनि छ ।

घोषणापत्रमा सञ्चारमाध्यममा लैंगिक नीति बनाई त्यसको अनिवार्य कार्यान्वयन गरिनुपर्ने लगायत आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन माग, पत्रकार नियुक्ति र पदोन्नति गर्दा सञ्चारमाध्यमले अपनाउनु पर्ने समावेशी नीतिको बुँदा पनि घोषणापत्रमा समावेश गरिएको छ ।

संचारमाध्यममा शिशु स्याहार केन्द्रको व्यवस्था, सरकारले व्यवस्था गरेको सुत्केरी बिदालाई पाँच महिना पु(याउने नीतिगत निर्णयको कार्यान्वयन, सुत्केरी बिदा बसेकै कारण पत्रकार महिलाको पदोन्नति रोकिन नहुने लगायतका माग पनि घोषणापत्रमा छ ।

चितवनको पटिहानीमा आयोजना गरिएको नेपाल पत्रकार महासंघको महिला समितिको दुई दिने भेला देशभरका दुई सयभन्दा बढी पत्रकार महिलाको सहभागी थिए ।