प्रदेश २को सरकार र प्रभु बैंकबीच बेटी शिक्षा विमा सम्झौता : ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’

माघ १७, जनकपुरधाम -प्रदेश २को सरकार र प्रभु बैंकबीच बेटी शिक्षा विमा सम्झौता भएको छ ।

प्रदेश २ सरकारले ‘बेटी पढाउ बेटी बचाउ कार्यक्रम’ अन्तर्गत बुधबार बेटी शिक्षा विमाको लागि प्रदेश सरकार र प्रभु बैंक बीच बुधबार सम्झौता गरेको हो । माघ १ गतेदेखि जन्मिएका छोरीलाई प्रदेश सरकारले एक लाखको शिक्षा विमा गरिदिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव हरिप्रसाद फुयाल र प्रभु बैकका सहायक महाप्रवन्धक अशोक खड्गीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्र मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरिएको छ ।

सम्झौता प्रदेश २ का ८ जिल्लाका एक एक वटा स्थानीय तहमा लागू हुनेछ । कार्यक्रम लागू भएका स्थानीय तहमा छोरी जन्मिएपछि अभिभावकले ६ महिनाभित्र आवश्यक कागजात सहित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा निवेदन दिनुपर्ने छ ।

त्यसपछि मन्त्रालयले प्रभु बैंकमा उक्त छोरीको नाममा मुद्दति खाता खोली एक पटकमा १३ हजार ४ सय ४६ रुपैयाँ १५ रकम जम्मा गर्नेछ । यसरी जम्मा पारेको विमाको रकम २० वर्षपछि छोरीको अभिभावकले एकमुष्ट १ लाख रुपैयाँ पाउनेछन् ।

तर खातावालाले बीचमै पढाइ छोडेमा, २० वर्ष नपुगी विहे गरेमा वा वेपत्ता भएको प्रमाणित भएमा खाताको रकम अभिभावकले पाउने छैन । मुख्यमन्त्रीको बेटी पढाउ बेटी बचाउ कोषमा फिर्ता हुनेछ ।