भारी हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध सुदुरपश्चिमका राजमार्ग सुचारु

माघ१३, अमरगढी — भारी हिमपातका कारण शुक्रबारदेखि अवरुद्ध सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात शनिबार साँझ ४ बजेदेखि सुचारु भएको छ ।

डडेल्धुरा, दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी, र अछामको मुख्य सडकहरुमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायातकासबारी चल्न सकेका थिएनन् ।

डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।

राजमार्गमा जमेको हिउँ हटाउन डोटीको बुडर र डडेल्धुराको अमरगढी नगरपालिकाको डोजरले शनिबार बिहानदेखि करीब ६ घण्टा काम गरेपछि साँझपखबाट यातायात चलेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए ।

दुई वटा डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगले मुख्य सडकमा जमेको हिउँ सफा गरिएको थियो ।