भारतद्धारा मिचिएका नेपाली भुमिक्षेत्रमा काँडे तार लगाईयो

माघ९, काठमाडौं —नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका विद्यार्थी नेताहरुले भारतद्धारा मिचिएका सिमाक्षेत्रमा काँडे तार लगाएका छन् ।

भारतले नेपाली भुमी अतिक्रमण गर्न नछोडेको भन्दै विप्लव’ समुहका अखिल क्रान्तिकारीले अतिक्रमित सीमा क्षेत्रमा काँडेतार लगाएका हुन् । उनीहरुले चितवनको माडीस्थित सोमेश्वरगढी नजिकै मर्चरी भन्ने ठाउमा काँडेतार लगाएका छन् ।

माडी आसपास भारतले दुई सय मिटरभन्दा वर आफ्नो सीमा स्तम्भ सारेको स्थानीयबासीहरुको भनाई छ । त्यही क्षेत्रमा विप्लव समुहका माओवादी विद्यार्थी संगठनले तारबार गरेको हो । खुल्ला सिमानामा बिभिन्न आपराधिक गतिविधि बढेकाले तारबार गर्नुपर्ने र भारतले सीमा मिच्ने प्रवृति हटाउनुपर्ने सन्देश दिन यस्तो काम गरिएको अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकालले बताए ।

राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई अगाडि बढाउदै यस्तो अभियान लिएर जिल्ला हुदै लिपुलेक पुग्ने अखिल क्रान्तिकारीका अध्यक्ष ढकालले जानकारी दिए ।

स्थानीयबासीसहित करिब १४५ जनाको टोलीले नेपालको राष्ट्रिय झण्डा र सीमा अतिक्रमण विरुद्ध नारा लेखिएको ब्यानर बोकेर तारवार लगाएका थिए । ब्यानरमा ‘सीमा मिच्न बन्द गर’, ‘अतिक्रमित भूमि फिर्ता गर’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गर’ नारा लेखिएको छ ।

एक तथ्यांकअनुसार भारतले नेपालका ७१ ठाउँमा ७८ हजारभन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रमण गरेको छ । तर अतिक्रमित भूमि फिर्ता गराउन पहल नगरेको भनेर सरकारको आलोचना हुँदै आएको छ ।