भौतिक पूर्वाधार मन्त्रालयले रेल खरिद गर्ने स्वीकृति पायो

माघ ३,काठमाडौं-सरकारले रेल किन्ने स्वीकृति पाएको छ । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रेल किन्न स्वीकृति दिएको हो ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको बताए ।

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले सरकारले फागुनदेखि आफ्नै रेलगाडी किनेर जनकपुर(जयनगर रेल सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । त्यसैगरी नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोड्ने तयारी गरिरहेको छ ।

यसका साथै सरकारले पानी जहाजको कार्यालय पनि स्थापना गर्ने जनाएको छ । सप्तकोशीमा पानी जहाज सन्चालन प्रक्रिया शुरु भइरहेका बेला उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले अब कागजको पानी जहाजमा सिमित नभई साँच्चैको पानी जहाज चलाउन कार्यालय स्थापना गरिएको भएको दावी गरे ।

केही समय अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज चलाउने घोषणाको खिसा टिउरी गर्दै कागजको पानी जहाज बनाएर देखाउनेलाई वास्तविक रुपमै जहाज चलाई टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजाने बताएका थिए ।