ईलाममा अनसरत डा. केसीको स्वास्थ्य अवस्थामा समस्या : आईसीयुमा रेफर

पुष ३०, इलाम – १६ औ अनसन बसिरहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि आइसियुमा राख्नुपर्ने भएको छ । सत्याग्रहको छैटौं दिन डा. केसीको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि इलाम अस्पतालका चिकित्सकहरुले जिल्ला अस्पतालमा आइसियु सुविधा नभएको बताएका छन् ।

आईसियुको सुविधा नभएपछि डा.केसीलाई तत्काल अन्यत्र सिफारिस गर्नुपर्ने भएको छ । सोमबार दिउसो डा.केसीको स्वास्थ्य जाँच गरेका चिकित्सक डा.विजेन्द्रकुमार साहले डा.केसीको मुटुको चालमा ३० बाट ह्वात्तै २ सय ४० पुगेकाले अवस्था गम्भिर भएको बताए ।

साँझ ५ बजे जिल्ला अस्पतालमा आयोजित आकस्मिक पत्रकार सम्मेलन गरी डा.साहले तत्काल प्राथमिक उपचार मात्रै सम्भव भएकाले तुरुन्त आइसियु ओपिनियन र आइसियु व्यवस्था गर्नुपर्ने जानकारी दिए ।

डा.केसीको घाँटी र दायाँ फोक्सोमा संक्रमण हुनुका साथै रोगसँग लड्ने क्षमता दिनहुँ कम भइरहेको चिकित्सक साहले बताए। ‘रगतमा चिनीको मात्रा कम भएको छ,’ उनले भने, ‘मुटुको चाल जाँच गर्दा यस्तो बिरामीलाई तुरुन्त आइसियु र सिसियु केयर चाहिन्छ । इलाममा यो सुविधा छैन।’

डा.केसीलाई सत्याग्रहस्थल फूलगाछीबाट सोमबार बिहान ९ बजे इलाम अस्पताल सारिएको हो । मुटुको गति अनियमित भएर स्वास्थ्यमा खतरा उत्पन्न भएपछि डा.केसीलाई बिहान ९ बजे सत्याग्रहस्थलबाट करिब १ किलोमिटरमा रहेको इलाम अस्पतालमा नर्मल स्लाइन र अक्सिजन लगाएर राखिएको छ ।

डा.केसी गत २५ गतेदेखि १६ औं सत्याग्रहमा छन्।