सुनसरीका फिदा हुसेनको हत्यामा संलग्न ४ जना पक्राउ, गोली हान्ने सुटर अझै फरार

पुस, २६ , विराटनगर — सुनसरीका फिदा हुसेनको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सुनसरीको दुहवी नगरपालिकाका २८ बर्षका मोहम्मद सकिम हुसेन, ३१ बर्षे जावेद हुसेन र ६० वर्षका विश्वम्भर यादवलाई पक्राउ गरेको हो । अर्का एकजना २२ बर्षका जफर मियालाई प्रहरीले बाँकेबाट पक्राउ गरेको हो ।

पक्राउ परेका तीन जनालाई सार्बजनिक गरिएको र बाँकेमा पक्राउ परेका अर्का एकजनालाई ल्याउदै गरेको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयाँलले बताए ।

घटनाको योजनाकार सकिम र जावेद रहेको र यादवले हतियार लुकाउन मद्दत गरेको डीएसपी फुयाँलको भनाई छ । गोली प्रहार गर्ने मुख्य सुटर भने अझै फरार भएकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

गत मंसिर ५ गते बिहान मर्निङ वाकमा निस्किएका ५५ वर्षका हुसेनलाई घरदेखि डेढ किलोमिटर पर जय बाबा इटा उद्योग अगाडि गोली हानी हत्या गरिएको थियो । छातीमा गोली लागी ढलेका हुसेनलाई न्यूरो अस्पताल विराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

आर्थिक लेनदेन र रिसिईवीका कारण उनको हत्या भएको प्रहरीको निश्कर्ष छ ।

उनी नेपाल विद्युत प्राधिकरण इटहरी वितरण केन्द्रका इलेक्टिकल हेल्पर थिए । श्रीमतीसँग मर्निङ वाक गरिरहेका हुसेनलाई बाटो ढुकेर बसेका व्यक्तिले उनको श्रीमतीलाई घरफर्कन लगाई गोली प्रहार गरेका थिए ।

यसअघि घटना भए लगत्तै स्थानीवासीले विराटनगर इटहरी सडक खण्डमा मृतकको शवसहित प्रदर्शन गर्दै आएका थिए । उनीहरुले व्यवसायीको हत्यामा संलग्न दोषीलाई २४ घण्टाभित्र सार्वजनिक गर्नुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा पनि मागेका थिए ।

गत असोज ४ गते पनि सुनसरी हरिनगरको भुटाहामा दिउँसै खुर्सिद आलमको गोली हानी हत्या गरिएयो । खुर्सिद हत्या घटना अझै निष्कर्षमा पुगेको छैन ।