मेलम्ची खानेपानी आयोजनाका इटालियन ठेकेदार सिएमसीलाई कारबाहीको माग

पुस २४, काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पार्नेहरुविरुद्ध कारबाहीको माग गरिएको छ । प्रतिनिधिसभाका सांसदहरुले काम सकिने वेलामा अल पात्र पारेको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

संघीय संसदको विकास तथा प्रविधि समितिको मंगलबारको बैठकमा नेकपाका साँसद यज्ञराज सुनुवार र राजेन्द्र लिङ्देनले आयोजनाको काममा भएको ढिलासुस्ती पत्ता लगाउन संसदीय छानवीन समितिनै गठन गर्न पनि माग गरेका छन् । उनीहरुले संसदीय समितिको छानबिनपछि दोषीलाई कारबाही गर्न सजिलो हुने पनि बताए ।

बजेट नपुगेको भन्दै इटालियन ठेकेदार कम्पनी सिएमसीले मेलम्ची खानेपानी आयोजनाको काम सकिनै लाग्दा विचमा छोडेकाले यसको सत्य तथ्य छानबिन गर्न संसदीय समिति गठनको आवश्यकता रहेको सांसदहरुको धारणा छ । अर्का सांसद राजेन्द्र लिङदेनले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र पारेर जाने सिएमसी कम्पनीलाई कडा कारबाही गर्न सरकारसँग माग गरे ।

उनले मेलम्ची खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्नेहरुलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि गरे ।राष्ट्रिय गौरवको आयोजनाको काम ठप्प पार्ने गरी भएको अन्यौलतालाई अघि बढाउन नसकेको गुनासो बैठकमा समितिका अन्य सदस्यहरुको पनि छ ।

यसैबीच, राष्ट्रिय गौरवका आयोजनाहरुको कामको प्रभावकारीता बढाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन पाएको छ । संघीय संसदको विकास तथा प्रविधि सभापति कल्याणी खड्काले राष्ट्रिय सतर्कता केन्द्रको कामलाई प्रभावकारी बढाउन निर्देशन दिएको बताईन् ।