स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हार

पुस२३ , काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडको हार भएको छ । आइतबार रातिको खेलमा रियल मड्रिडले रियल सोसाइडेडसँग २–० गोलले हारेको हो ।

रियल सोसाइडेडको जितमा विलियन जोसे र रुबेन पार्डोले गोल गरे । खेलको सुरुवातीमै रियल सोसाइडेडले पेनाल्टी पाएको थियो । पेनाल्टीबाट जोसेले रियल सोसाइडेडका लागि गोल गरेका थिए ।

खेलको ६१औं मिनेटमा रियल मड्रिडका लुकास भजक्वएजले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए ।  खेलको ८३औं मिनेटमा पार्डोले गोल गर्दै रियल सोसाइडेडलाई २–० गोल गरी जिताएका थिए ।

हारपछि रियल मड्रिडको १८ खेलबाट ३० अंक भएको छ । रियल सोसाइडेडको समान खेलमा २२ अंक छ ।