विकसित मुलुकको कार्वन उत्सर्जनले नेपालमा जलवायु परिवतर्नको असर बढ्दै : राष्ट्रपति भण्डारी

पुस १७, सिन्धुपाल्चोक (गुफाडाँडा) —  सिन्धुपाल्चोकको गुफाडाँडामा २दिने राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीदेखि साढे १४ किलोमिटरको उचाईमा आयोजना गरिएको सम्मेलनको उद्घाटन गरेपछि राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको हो ।

गुफाडाँडामा निर्माण गरिएको प्रतिमा अनावरणपछि राष्ट्रपति भण्डारीले सम्मेलनस्थलमा राष्ट्रिय झण्डाको झण्डोतलन गरेकी थिइन् ।
जलवायु सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विकसित मुलुकहरुले कार्बन उत्सर्जन गरेकाले नेपालजस्ता मुलुकहरुले यसको मार खेप्नुपरेको बताईइन् ।

यसको मुल असर अबको नयाँ पिढीलाई पर्न जाने बताउदै राष्ट्रपति भण्डारीले यो अपराध भएको उल्लेख गरिन् ।
अब कुनै पनि पुर्वाधारको निर्माण कार्य गर्दा वातावरणीय अबस्थालाई ख्याल गर्नेपर्ने बताउदै उनले जलवायु परिवर्तनको असर र यसको प्रभावका विद्यालयस्तरीय शिक्षामा पनि ज्ञान दिनुपर्ने जोड दिईन् ।

राष्ट्रपति भण्डारीले वालुवा गिट्टी रोडा लगायतका उत्खनन र प्राकृतिक दोहनले पनि जलवायु परिवर्तनमा असर गरेको छ भनिन् ।
‘पर्यटन र संस्कृतिको जगेर्ना गर्न प्राकृतिक सम्पदा नबिगारीकन सिँगार गरेर विकास निर्माण गर्नुपर्ने उनको धारणा थियो ।

राष्ट्रिय जलवायु सम्मेलनमा यसका विज्ञ समूहहरुको ११ वटा कार्यपत्र प्रस्तुत भएको थियो । यस्तैगरी मंगलबार पनि ११ वटा प्रस्तुति भई समूहगत छलफलपछि निश्र्कषसहित घोषणापत्र जारी हुनेछ ।